पीताम्बर पाण्डेय
अमेरिकाको पढाईमा रोचक कुरा के भने आफ्नो बिषय ईन्जिनियरिङ या मेडिकल जे भए पनि इतिहास, मनोबिज्ञान या धर्म सम्बन्धी क्लास पनि लिनु अनिवार्य हुन्छ। धर्म सम्बन्धि एउटा क्लासमा संसारका मुख्य धर्महरु बारे पढाई हुने गर्थ्यो। हिन्दू सम्बन्धी चर्चा-परिचर्चा हुँदा एक दिन प्रोफेसर संग मेरो सानो वाद-विवाद जस्तो नै पर्यो। अनुयायीहरूको संख्यात्मक रूपले हेर्दा विश्वमा तेस्रो नम्बरमा आउने यो धर्म, अहिंसालाई बढि महत्व दिने धर्म हो भन्दै शुरु गरेकी उनले स्वाभाविक रुपमा यसका नराम्रा पक्षहरू पनि बताउदै थिईन जसमा सती-प्रथा, बली-प्रथा र दाईजो-प्रथा प्रमुख थिए। यसै कुरा बाट नै हाम्रो मतभेद शुरु हुन गएको थियो। अरुका के कुरा गरौँ, हिन्दू धर्मावलम्बीहरू नै यो कुराबाट अनविज्ञ छन्।
नेपाल- जुन कुनै बेला हिन्दू राष्ट्र अनि शान्ति-क्षेत्रको लागि प्रस्तावित देश पनि थियो, त्यहाँ संसारमै सबैभन्दा बढी संख्यामा बली दिइन्छ भन्दा कुन चाँहि मनिस अचम्मित नहोला? संसारमा मानव-अधिकार मात्र नभएर पशु-अधिकारका बिषयमा पनि आवाज बुलन्द भई रहँदा हाम्रो देशमा हजारौँ-हजार निर्दोश जनावरहरूको बलीको नाममा सामुहिक हत्या कति सम्म समय सापेक्ष छ? अहिँसाका प्रतिक “बुद्ध” जन्मिएको देश हो हाम्रो नेपाल भनेर कुर्लदै हिड्नु कुनै अर्थपूर्ण छैन। धार्मिक परम्पराको निरन्तरता भन्दै गरिने अबोध प्राणीहरूको क्रुर-वध पूर्ण रूपमा अमानवता, असभ्यता, अबैज्ञानिक र धर्मको अपुर्ण ज्ञानको ध्योतक हो। हिन्दू धर्मका कुनै पनि वेद र पुराण हरूमा कहिँ पनि भगवानले आफूलाई खुशी बनाउन बली चढाउ भनेको पाइँदैन। यो पुर्णत: कूरीति हो।
सब भन्दा पहिले हामीले बुझ्नु पर्ने कुरा के हो भने- धर्म र संस्कृति/परम्परा यी उस्तै- उस्तै लागे पनि अलग-अलग चीज हुन्। हिन्दू धर्म भनेको वेद र त्यसबाट व्युत्पन्न पुराणहरुमा उल्लेखित निर्देशनहरूमा हुने आस्था हो जसलाई आदर्शपूर्ण रूपमा अनुशरण गरे आफ्नो आत्मा परमात्मामा सम्मिलित हुने विश्वास गरिन्छ। तर संस्कृति भनेको मनिसले आ-आफ्नो विश्वासका आधारमा समाजमा आफैले उत्पत्ति गरेका कार्य हुन जो एक पछि अर्को पुस्तालाई परिदान गर्दै जादा रीति-रिवाज या परम्परा बन्न जान्छन् । नेपालमा हामीले धर्मले संस्कृतिलाई परिभषित गर्नुको सट्टा संस्कृतिले नै धर्मलाई परिभषित गरिरहेका छौँ।
नेपालमा मान्दै आएका संस्कृतिहरू मध्ये केहि हिन्दू धर्मबाट प्रदुर्भाव भएका छन् (दशैँ, तिहार, जनै पुर्णिमा), भने कुनै आधुनिक बाहिरी समाजबाट अपनाइदै छन् (भ्यलेटाइनस् डे, राखी बन्धन)। अनि कुनै चाँहि हामी आँफैले उत्पत्ति गरि अज्ञानता-बश हिन्दू धर्मसंग जोडी दिएका छौँ- गढीमाइ बली-प्रथा यसको ज्वलन्त उदाहरण हो। त्यस्तै देवीका मन्दिरहरूमा दशैँमा दिइने बलीहरू, पुरानो समाजमा सती-प्रथा यसका अरु थप उदाहरण हुन। संसारमा भौतिक संरचना कुन चरम बिन्दुमा पुगि सके तर हामी मुर्ख नेपालीहरू दुई-कोठे घरको ढलान गर्दा समेत बोकाको बली दीन छोडेका छैनौँ- घर बलियो हुने अन्धबिश्वामा।
न त हामी आधुनिक सभ्य मनिस सरह सोच-कार्य गर्न सक्यौ, न त आफ्नै धर्मको नै पूर्ण ज्ञान लिएर संस्कृति सुधार्न सक्यौँ। सक्यौँ त केवल पेण्डुलमको दुई छेउमा पुग्न नसकेको निरिह डल्लो सरह हल्लिई रहन, यता र उता, तलै झुन्डिएर सधैँ। बुद्धको फोटोमा अगरबत्ति जलाउने अनि बलीको नाममा मार हान्न हिड्ने, हातमा लडडु लीई बसेका गणेशलाई ढोग्ने अनि अण्डा फुटाइ चढाइ दिने। यो ब्रह्माण्ड नै भगवानको हो, भगवान त सर्वशक्तीमान छन् भन्ने पनि दिमागमा पाल्ने अनि उनै भगवान चाहिँ बोको पाउनको लागि मेरो भाकल पुरा गर्छन् भन्ने पनि सोच्ने। धार्मिक दृष्टिले हेर्दा, यदि कसैले भाकल गरेको नाममा बली दिई हाल्छ भने पनि त्यो अर्थहिन देखिन्छ। “काम गर तर फल को आश नगर!” भन्ने हिन्दू धर्मको महान उपदेश हो मानव जगतलाई। अर्थात, तिमी केवल राम्रो काम गर्दै जाउ, सोहि अनुसारको फल अवश्य प्राप्त गर्ने छौ। अर्थात फल प्राप्ति आफ्नो कर्म बाट हुन्छ, भाकल र बलीबाट होइन।
नेपालमा देवीहरूको मन्दिरमा हुने बली खासमा देवी “कालिका”को अवतार बाट प्रेरित भएर शुरु गरेको प्रतित हुन्छ। तर पुराणमा दुर्गामाताले कालीकाको डर लाग्दो रूप धारण गरेको केवल रक्षसहरूको संहारको लागि थियो। जुन कार्य सकिए पछि उनी पुन: दुर्गाकै वास्तविक रूपमा आएकी छिन। यस बिचमा भएको देवताहरूको प्रार्थना र कुरा-कानी “दुर्गा सप्तशती” को एघारौँ र बारौँ अध्यायमा वर्णित छ। त्यहाँ उनले आफूलाई बली चढाउन भनेको कहिँ कतै उल्लेख छैन। ।
हिन्दू धर्म अनुसार भगवानलाई खुशी पार्ने अथवा पुण्य प्राप्तीका तरीका तीन वटा मात्र छन्- दया, दान, र धर्म। गढीमाईमा होस् या अन्त कहीँ, बली दिने कार्य अर्थात् “हिँसा” यी तीन वटैमा पर्दैनन्। यो अधर्म भित्र पर्दछ। निस्वार्थ रुपमै भए पनि देवीलाई खुशी बनाउने हेतुले कसैले बली दिई नै हाल्छ भने पनि त्यो एक निर्दोश प्राणीको हत्या बाहेक बढी केही हुन सक्दैन। त्यसो त देवी (कालिका)लाई खुशी बनाउने क्षमता देवताहरूमा पनि देखिदैन। उनको रिस शान्त गर्नको लागि मात्र पनि स्वयं महादेव उनको बाटोमा सुतेर रोक्नु पारेको थियो ताकि उनी आफ्नो पत्नि मर्यादा बचाइ राख्न पनि आँफुलाई नाघेर नजाउन। अत: राँगा बोका, परेवा काटेर देवी खुशी पर्छु भन्ने मान्छे कत्तिको अज्ञानी हो आफैँ बिचार गरौँ।
यदि तिमी आफूलाई हिन्दू भन्छौ अनि देवतालाई खुशी पार्न चहान्छौ भने, शुद्ध तन र मनले एउटा फूल अर्पण गर, त्यो नै काफी छ। एक “आइडियल हिन्दू” त सबै प्राणीलाई आफुँलाई जत्तिकै माया गर्ने, अरु प्रति दया, प्रेम र करुणा देखाउने, पूर्ण शाहाकारी/सात्विक भोजन र र योग बाट पवित्र जीवन जिउने ब्यक्ति हुने गर्दछ, मन्दिर मै बेकसूर प्राणीहरू काट-मार गरि रगतको खोलोमा नाच्ने मानव रुपी दानब हैन।
हिन्दू धर्मको नाममा फैलीएको बिभ्रान्ति र त्यसैबाट पैदा भएका कु-संस्कारहरू नेपाली समाजको चुनौती हुन्। हिन्दू पुराणहरूमा कहिँ पनि देवी-देवताले आफूलाई बली चढाउ; कसैको पती मरे पछि पत्नि लाई पनि संगै आगोमा पोल या छोरीको बिहे गरिदिँदा दाईजोको रूपमा सके मोटर-साइकल अथवा कम्सेकम पलङ-दराज दिनु भनेका छैनन्। यी सबै कुराहरू हामी आँफैले जन्माएका रीति-रिवाज, संस्कृति र परम्परा भित्र पर्दछन्। अनि यिनै रीतिहरू पुस्तौँ-पुस्तामा सर्दै जादा कालान्तरमा कूरीतिमा परिणत भएका हुन्। हाम्रो पुरानो समाजमा बाल-विवाह जस्तो कूरीति शुरु गरियो, त्यो समाजमा बिकसित हुँदै गर्दा छोरीलाई नयाँ घरमा अभाव पार्न सक्ने समानहरू दाईजोको रूपमा पठाउन थलियो। अनि नेपालमा विवाह प्राय: हिन्दू धर्म पद्दति अनुसार हुने भएकोले यी बाल-विवाह र दाइजो जस्ता कूरीतिलाई पनि हिन्दू धर्म कै एक हिस्सा भनेर बुझ्न थालियो।
किवंदन्तीअनुसार उहिले–उहिले गढीमाईमा पहिलो बलि मान्छेकै दिइन्थ्यो। मानिस बढी चेतनशिल भए, नियम कानुन् बन्यो, अनि त्यसो गर्न पनि रोकियो। त्यस्तै बाल-विवाह रोकियो, चन्द्र शम्शेरबाट सती प्रथा पनि रोकियो। २३७ बर्षको राज-शाशनकै अन्त्य हुने देशमा यी कूरीतिहरू पनि अन्त्य गर्नु असम्भव काम होइनन्। धर्मको सहि तरीकाले पालना गर्दै सभ्य र समुन्नत समाजको सपना देख्ने हो भने यी सम्पुर्ण कूरीतिहरू हटाउनु या कम्तिमा सुधारको सुरुवात गर्न अत्यावश्यक छ।
लेखक हाल टेक्सस स्थित साउथ-वेस्ट एयरलाइन्समा ईन्जिनियरको रूपमा कार्यरत हुनुहुन्छ