पूर्वको झापा जन्मेको म जब पत्रकारिताका लागि २०५४, ५५ मा नेपालगञ्ज पुगें । त्यतीबेला सशस्त्र द्धन्द्ध चलिरहेको थियो । र त्यो द्धन्द्धले कर्णालीलाई नराम्रोसंग गांजेको थियो । म जुम्ला, हुम्ला, मुगु, कालिकोट पुगेपछि, थाहा भयो हामी नेपाली कस्तो अवस्थामा रहेछौं भन्ने । त्यसबेला यी जिल्लामा न त एक किलोमिटर मोटर बाटो थियो न त एउटा मोटर नै । हुम्ला जिल्लामा जम्मा दुईवटा टेलिफोन लाइन थिए र सिंगो जिल्लामा कोही एक धनिको घरमा जम्मा एक सेट टेलिभिजन । मैले त्यहाँको गरिबी, अभाव, बांच्नका लागि भइरहेका संघर्ष मात्र होइन, केही आशाका किरणहरु पनि देख्ने र केही हदसम्म भोग्ने मौका पनि पाएं । त्यही आशाका किरण मध्येका एक थिए जीवन बहादुर शाही । एक जना युवा शिक्षित, सचेत र आफ्नो भुगोललाई माया गर्ने भयो भने कतिसम्म फरक पार्छ भन्ने कुरा जीवन र उनले गरेका कामबाट देख्न पाएं । कर्णालीले मन यति तान्यो कि मैले मेरो मास्टर्सको थेसिस नै हुम्लाको सिमिकोट हिल्सा मार्गमा गरें । जुन सडकका लागि जीवन दिलोज्यान दिएर लागेका थिए । पाईलटको तालिम लिएर पनि जहाज उडाउनुको सट्टा जिल्लामै बसि विकासमा लागेका जीवन हाल कांग्रेसका केन्द्रिय सदस्य हुन् र हुम्लाबाट विजयी संविधानसभाका सभासद पनि । आज म यहांहरुलाई जीवनको मुखबाट कर्णालीको कुरा गर्न चाहन्छु जो नेपालको पनि कुरा हो ।