अमेरिका ,माघ २२ ,करिब तीन हप्ता अगाडी अपहरणको शिकारमा परि नेपालको औधोगिक नगरी बिराटनगरका एक प्रतिष्ठित उद्योगपति ,समाजसेवी र असल अभिभावक गंगा बिसन राठीको सुनियोजित ढंगबाट गरिएको हत्याको खबरले सबैलाई मर्माहत बनाएको छ । आफु सात समुद्र पारी अमेरिकामा रहेता पनि अतितमा आफुले पटक पटक यस्ता मृदुभाषी र स्वभावले नै मिजासिला प्रवृतिका कुबेरसंग बिराटनगरमा साक्षात्कार भएका केहि स्मरणहरु मेरो मस्तिष्कमा अझै सावनको भेल जस्तै कुरा खेली रहेको छ ।
जीवनको एक दशक(सन् १९९१ -२००५ )भन्दा लामो समय बिराटनगरमा आफुले व्यतित गरेको र सन् २००८ मा अमेरिका बसी बिराटनगरको घर कुनै कारण बेच्नु पर्यो । यो बिराटनगरसंग मेरो बिशेष साईनो गासिएको छ किनभने ५ यिनै स्वर्गीय उद्यमी गंगा बिसन राठीको छिमेकि हुन् सौभाग्य पाए । वहाको निवास नजिकै आफ्नो पाखुरी चलाई छाप्रो बनाएको हुनाले स्वर्गीय राठीसंग प्राय भेटघाट भै रहन्थ्यो । खाद्य सामग्री वहाबाट संचालित उद्योगबाट खरिद गर्ने ठाउँ अर्थात् पानी पधेरो भएको थियो । एक समाज सेवी भएको नाताले पनि आफु पनि यहि औधोगिक नगरीमा कर्म क्षेत्र भएको नाताले समय ब्यबस्थापन गरि सामाजिक समारोह ,उत्सब र अन्य कार्यक्रममा जम्का भेट हुने गर्दथ्यो । आफ्नो काममा दत्त चित्त भै लाग्नु पर्ने तत् पश्च्यात समाज सेवामा होमिनु पर्ने भन्नु हुन्थ्यो । बिभिन्न संस्थामा वहालाई एक शुभ चिन्तक भएको हैशियतमा अभिभावकको रुपमा संलग्न गराईन्थ्यो । वहा समय ब्यबस्थापन गरि हौसला प्रदान गर्न कहिले पनि चुक्नु भएन ।
सदैब हसिलो र खुशी रहनु हुन्थ्यो । धार्मिक उत्सबमा बिसेष अभिरुचि र दिन दुखिलाई हृदय देखि नै सहयोग गर्नु हुन्थ्यो । वहा कलाकारहरुलाई पनि सम्मान गर्नु हुन्थ्यो । एकहोरो व्यवसायमा लागेको ब्यापारीलाई कहिलेकाही उसको मनलाई चुस्त र फुर्ति ल्याउन मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रममा संलग्न गराउनु पर्छ भन्नु हुन्थ्यो । सन्तोष पन्त , हरि बंश आचार्य तथा मदन कृष्ण श्रेष्ठको सांस्कृतिक कार्यक्रममा आयोजकलाई हौसला प्रदान गर्न आर्थिक सहयोग गर्न पछि कहिले पर्नु भएन । सांस्कृतिक कार्यक्रममा आफु मात्र सहभागी नभई आफ्ना परिवारलाई समेत जान उत्साह गर्नु हुन्थ्यो । वहाले मोरङ व्यापार संघको नेतृत्व दिई सक्नु भएको थियो र हामी पनि कार्यक्रममा सहभागी हुन्थ्यो । स्वर्गीय राठीका दाल, चामल, तेल, मैदा, जुट र सलाईका उद्योगहरु रहेका छन् र बिहान देखि नै आफु स्वयम् खट्नु हुन्थ्यो ।
बिराटनगरमा अग्रवाल ,राठी,काब्रा,खेतान ,लालवानी ,गोल्छा ,लुनिया ,धनावत र दुगडहरुको निकै बाक्लो बसोबास रहेको छ । सबै जसो उद्योग तथा व्यवसायमा तल्लिन छन् । वहाले भनेको सबै भन्दा आफु महत्वपूर्ण कुराहरु समाज सेवाले जीवन सार्थक हुने र आत्मा संतुष्ठी हुने हुनाले समय निकालेर भए पनी यो सेवामा लाग्नु पर्छ भन्नु हुन्थ्यो । वहाले अभिव्यक्ति दिएका कुराले मलाई अमेरिकामा पनि घोची रहेको छ । यो अगाडी पनि बिराटनगरका उद्योगपतिहरुलाई अपहरण नगरेका हैनन् । तर फिरौती रकम बुझाई तथा प्रहरी र प्रशासनको मद्दतले ब्यापारी /उद्यमी सकुसल घर फर्केका ईतिहास छ । त्यही दिन नै पाता कसी घाटी थिचेर मारेको कहाली लाग्दो अपहरणकर्ताको बयानले हामीलाई पिडा थपिएको छ । यस्तो अशुभ समाचार कहिले नसुन्नु परोस र यो बुढेशकालमा दर्दनाक मृत्यु भोग्नु पर्यो ।
वहाको यो हत्याले आफु विक्षिप्त भएको र सात समुद्र पारी आफु भएकोले भौतिक रुपमा उपस्थित हुन् नसकेकोमा दुख लाग्नु स्वाभाविक हुन्छ । मोरंग जिल्ला ,बिराटनगरमा राठी परिवारहरु प्रसस्त छन् र हाँगाहरु चौतर्फी फैलिएका छन् । यो निधन प्रति गहिरो दुख ब्यक्त गर्दै यस घडीमा सम्पूर्ण परिवारलाई धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गर्न सकुन भन्दै दिवंगत आत्माको चिर शान्तिको लागि हार्दिक श्रदा सुमन अर्पण !
ओम शान्ति ! शान्ति !! शान्ति !!!
विजय थापा
हाल :भर्जिनिया ,सयुक्त राज्य अमेरिका