भाषा बिचार सम्प्रेषण गर्ने एक सशक्त माध्यम हो । भाषा बिना जीवन अधुरो र अपुरो हुन्छ । मानिस सबै भन्दा बिबेकशिल प्राणी हो । जनावर र चरा चुरुंगी भन्दा पृथक छ किनभने उ बिबेकले काम गर्न सक्छ । हरेक मानिसले आफ्नो देशको आफ्नै मात्री भाषा बोल्न रुचाउछ । मात्री भाषाको मोहबारे महाभारत लेखे पनि अधुरो नै हुन्छ । हरेक देशका नागरिकलाई देश भक्ति र राष्ट्र प्रेमको भावनाबाट अभिप्रेरित गराउने माध्यम भाषा नै हो । राष्ट्रियता र देश भक्तिको भावना कुनै पनि देश उपनिवेश बन्न बाध्यता भएका र स्वतन्त्र भै सकेका देशका नागरिकलाई अधिकतम हुन्छ । किनभने राष्ट्र प्रेम र देश प्रेमको भावना उनीहरुले जत्ति अरु कसैले पनि अनुभूति गरेका हुदैनन् । अचानाको पिर खुकुरीले जान्दैन भने जस्तै राष्ट्र प्रेम र देश भक्ति प्रश्नमा प्राणको आहुति चढाउन पनि उनीहरु तत्पर हुन्छन ।
नेपाली राष्ट्रिय भाषामा हामी नेपालीहरु अति नै सम्बेदनशील छौ । बलिदान र त्यागको लागि जीवन समर्पण गर्न तत्पर हुन्छौ । नेपाल भाषा भाषीकाहरुको एक साझा फूलबारी हो र मात्री भाषा सबैलाई हृदयको धड्कन भन्दा पनि माया लाग्दछ र हामी सबै यस प्रति गर्व गर्दछौ । नेपाली हुनाले हामी हाम्रो राष्ट्र भाषा नेपालीलाई भित्रबाट नै चाहन्छौ र सम्मान गर्दछौ । स्वदेशमा बसोबास गर्ने भन्दा मुलुक बाहिर बसोबास गर्ने नेपाली मूलका सबैलाई देश प्रेम,राष्ट्र भक्ति र राष्ट्र भाषा अतिनै प्यारो लाग्नु स्वाभाविक हुदो रहेछ किनभने बिदेशी माटोमा क्षणिक रमाएता पनि अन्तरआत्मामा मुलुकलाई बिर्सन सक्दैनन् । बिदेशी माटोमा बसाई सराई तथा अन्य कारण भएता पनि सच्चा देश भक्ति स्वदेश मै बसी ढिडो र गुन्द्रुक खाएर पनि सेवा गर्नु पर्ने एक थरिकाले बिचार पोख्दछन । असफल राष्ट्र हुन्छ कि भन्ने सन्त्रास र मुलुकको धमिलिएको राजनैतिक अवस्थाको कारण बिबस लाखौ नेपाली मूलका नेपालीहरु बिदेशी माटोमा बाध्य भै आफ्ना भाबी सन्तति र पिढीहरुको सुनौलौ भबिष्यको सपनाबुनी रहेका छन् । उनीहरुले देश बिर्सिन सक्लान तर भाषा कहिले मर्न दिदैनन् किनभने मुलुक बाहिर हुना साथ हाम्रो बिचार आदान प्रदान गर्ने माध्यम नै हाम्रो राष्ट्र भाषा नेपाली हुन्छ ।
राष्ट्र भाषा बिना त बिदेशी माटोमा बिरानो लाग्दछ र नेपालीहरुको पहिचान नै यहि नेपाली राष्ट्र भाषा हो ।यो पंक्तिकारले झन्डै १८ बर्ष अगी देखि निरन्तर रुपमा नेपाली भाषाको प्रबर्धन,सम्बर्धन र भावी पिढीहरुको लागि भनि गरिएको एक भाषिक अभियान हो भन्नु पर्दा अतिशयोक्ति नहोला भन्ने ठान्दछु । हाम्रो राष्ट्रिय भाषालाई आगन्तुक शब्दहरुले व्यापक अतिक्रमण गरि रहेको छ । भाषा शास्त्री तथा विशेषज्ञहरुले रोकथाम नगरे भोलि नेपाली भाषा पूर्ण खिचडी हुन्छ र आगन्तुक अंग्रेजी शब्दलाई नै नेपाली शब्द हो भनि स्वीकार गर्ने हो भने कालान्तरमा नेपाली शब्दहरुको बिलिन हुनेछ । युवा पिढीलाई नेपाली शब्द र भाषाको ज्ञान दिन अझ महत्वपूर्ण हुन्छ किनभने उनीहरुमा अंग्रेजीको भूत सवार भएको हुन्छ र स्वाभाविक पनि हो किनभने युवा पिढीहरुको अन्तिम लक्ष्य परदेशमा गै अध्ययन गर्ने हुन्छ त्यहाँ नेपाली भाषाले काम दिदैंन । अहिलेका पिढीहरुको अंग्रेजी राम्रो हुदै आएको देखिएको छ तुलनात्मक रुपमा तर नेपाली भाषामा कमजोर देखिएको छ । नेपाली भाषा संसारको कुनै पनि देशको राष्ट्र भाषा भन्दा कमजोर छैन र हामीले अत्यधिक अंग्रेजी भाषाको प्रयोग कारण नेपाली राष्ट्रिय भाषा तुलनात्मक रुपमा फितलो भएको भान हुन्छ । नेपाली भाषाको गहिराईमा डुबुल्की मार्ने हो भने भाषा विशेषज्ञले नेपाली भाषाको बृहत बिस्तार गरेका छन । अंग्रेजी भाषाको मोह जागृत भए जस्तै नेपाली राष्ट्र भाषालाई पनि उतिकै माया गर्न सके यो भाषा कहिले ओझलमा पर्ने छैन । नेपालीहरु विदेशिने क्रम अत्यधिक बृद्दी हुदैछ । यिनीहरुले परदेशमा रहे पनि साहित्य,कला,संस्कृति,परम्परा आदि ईत्यादीको सम्बर्धन गर्ने उदेश्य हेतु अविरल कलम चलाई रहेका हुन्छन । फलस्वरूप भाषा र साहित्य निरन्तर मौलाएको भेटिन्छ । बिदेशमा नेपाली पाठशालाहरु पनि जताततै खुलेका छन् र आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउनु पर्छ भनि अभिभावकहरु चिन्तनशिल छन् किनभने यदि नेपाली हु भने कसैले गर्व गर्दछ भने भाषा जान्नु पनि उतिकै अपरिहार्य हुन्छ । नेपाली भनि गौरब गर्ने तर भाषा सम्बन्धमा शुन्य ज्ञान भए अनर्थ हुन्छ ।
हामी स्वदेश या विदेश जहाँ जस्तो अवस्थामा रहे पनि हामी नेपाली हौ,पुर्खाले दिएको ज्ञान र उपदेश हाम्रो रगतमा छ । हामी नेपाली शूरबिर छौ र हाम्रो दायित्व अनेक भएता पनि हाम्रो संस्कृति,परम्परा,भाषा र साहित्यको जगेर्ना गर्नु हाम्रो परम कर्तब्य हुन्छ । भाषा प्राण भन्दा पनि प्यारो हुन्छ । हरेक नेपालीले आफु र आफ्ना सन्तानलाई राष्ट्र भाषाको ज्ञान दिन सक्नु पर्छ नत्र भाषाको बिकाश हुने सम्भव हुदैन र ढोकै बन्द हुने हुन्छ । हाम्रा भावी सन्तान तथा युवा पिढीहरुलाई नेपाली भाषाको महत्वबारे सचेत गराउन नसके भाषा खतरामा पर्दछ किनभने एसियाकै शसक्त राष्ट्र सिँगापूरले अंग्रेजी भाषालाई उच्च प्राथमिकता दियो । केहि समय पश्च्यात सिंगापूर राष्ट्र बाध्य भयो कि जब सम्म आफ्नो मुलुकको भाषालाई बिकशित गरिदैन संस्कृति,परम्पराको अनुसन्धान गर्न कठिन हुने रहेछ भनि पुन: आफ्नो भाषालाई बिउताउन् जमर्को गर्यो । दक्षिण एसियाली मुलुक बाहेक विश्वको हरेक कुनामा नेपाली समुदायको बिस्तार अत्यधिक बढन थालेको छ । संचार माध्यमले गर्दा बिश्व नै गाउँमा परिणत भएको छ । प्रशस्त बिधुतिय संजाल (बिधुतिय पत्रिका ) संचालनमा आएका छन् र यहि माध्यम द्वारा नै भाषा र साहित्यको प्रबर्शन र सम्बर्धनमा ठुलो टेवा मिलेको छ ।
बिदेशी माटोमा अनगिन्ती बिधुतिय पत्रिकाहरु नेपाली भाषामै संचालित छन किनभने नेपाली राष्ट्र भाषा सबै नेपालीहरुको प्रतिनिधित्व गर्दछ र सबैको प्यारो छ । अत्यधिक नेपालीहरु नेपाली पत्रिका नै पढ्ने गर्दछन ।अंग्रेजीको मोह भएका र सरल लाग्नेहरु आफ्नो ईक्षा अनुसार अंग्रेजी बिधुतिय पत्रिका पढनेहरुको संख्या पनि निकै बढदैछ र बढ्नु पनि पर्दछ । नेपाली शब्द हो या आगन्तुक शब्द हुन् भनि यकिन गर्नु जरुरि हुन्छ किनभने अत्यधिक रुपमा विचार,धारणा र लेखमा अत्यधिक आगन्तुक अर्थात् अंग्रेजी मिश्रित गरिन्छ । यसलाई रोक्न सकिएन भने आधा अंग्रेजी र आधा नेपाली भै नेपाग्रेजी हुन्छ । भावी पिढीले यहि मिश्रित शब्दलाई नेपाली मूल शब्द भनि प्रयोग गर्दछन अनि यहि शब्द नेपाली बोलीचालीको रुपमा प्रयोग हुन्छ । नेपालीमा ग्यारेज शब्द स्थापित भै सकेको छ तर नेपालीमा कार्यशाला भनिन्छ,चिकित्सकहरुको क्लिनिकलाई जाच कक्ष /उपचार कक्ष भनिन्छ,पानी राख्ने भाडोलाई नेपालीमा जलदानी भनिन्छ,चुरोटको ठुटा राख्ने एस्ट्रेलाई नेपालीमा खरानीदानी भनिन्छ,पहिले बिशालबजारको जन्म भयो हाल मल / सुपर मार्केट जिब्रोमा बस्यो,मोटर साइकललाई नेपालीमा भटभटे भन्दा अर्को ग्रहबाट आएको पाखे भनिन्छ । भाषामा यसरि आक्रमण हुदै जाने हो भने हाम्रो नेपाली भाषा एकादेशमा पृथ्वी नारायण शाहले नेपाललाई एकीकरण गरि राष्ट्र भाषा बनाई दिएका थिए भन्ने मात्र ईतिहास सुनिन्छ । हामी सबैले हाम्रो यो गौरबलाई अनन्त कालसम्म कालजयी बनाउनु पर्छ । अझ शसक्त बनाउदै हाम्रा पुर्खाले दिएको दायित्वलाई भावी पिढीको मन र मस्तिस्क सम्म पुर्याउदै जानु पर्छ अनि हाम्रो नेपाली भाषाले जीवन्तता पाउदछ ।
समय समयमा नेपालबाट आएका नेपाली कलाकारहरुद्वारा विश्व भरि यत्र तत्र छरिएर रहेका मातृभूमिको सम्झनामा तडपिएका नेपाली समुदायलाई मनोरंजन गर्ने उदेश्य अनुरुप कलाकारहरुद्वारा प्रस्तुत गरिने प्रहसन,नाटक,नृत्य,गीत र सांगेतिक कोसेलीले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनिहरु मुलुक सम्झन बाध्य हुन्छन । नेपाली भाषामा प्रस्तुत गरिने कलाकारहरुको प्रतिभा र व्यंगात्मक शैलीको सांगेतिक कोसेलीले दर्शकहरुको गह भरि आशु छचल्किन्छ र त्यो प्रस्तुतिले मन थाम्नै सक्नदैनं किनभने नेपाली भाषा यति मिठो हुन्छ कि यसको परि कल्पना संगै हामी पौडिन थाल्दछौ । त्यो संगीत र गीतले सबैको हृदयमा छुन्छ अनि बलिन्द्र आशुको धारा बहन्छ र देश फर्कन मन लाग्दछ र देश भक्तिको भावना जाग्दछ । भाषासंग मजाक गर्नु हुदैन र धज्जी उडाउने सोच हाम्रो स्मृतिपटलबाट हटाई दिनु पर्छ । भाषामा जति ठेट शब्द प्रयोग गर्न सक्यो त्यतिनै मिठास र माधुर्यता आउछ ।नेपालीपन झल्किन्छ त्यसैले बिदेशमा बस्ने सबै नेपालीले हाम्रो राष्ट्र भाषा प्रति सद्भाव देखाउन सके हाम्रा पिढीले हामीले गरेको गुण कहिले बिर्सदैनन । आफ्ना सन्तानलाई नेपालीमै कुराकानी गर्न सिकाउनु पर्दछ । बिदेशमा जन्मेका र हुर्केका सन्तानलाई मात्री भाषाको रुपमा नेपाली भाषालाई प्रथम प्राथमिकता दिनु पर्दछ । जुनसुकै देशमा बसोबास गरे पनि त्यही देशको राष्ट्र भाषा अनिवार्य हुन्छ त्यसको साथै हाम्रो भाषालाई पनि उतिकै उच्च मान्यता दिन सके हाम्रो भाषाको कहिले बिनास र बिलय हुदैन ।
भाषाले देश प्रेम र राष्ट्रियता जगाउने कुरामा स्वाभिमानी नेपाली सहमत हुने छन् भन्ने बिचार पोख्दै पूर्ण बिराम !
विजय थापा, हाल भर्जिनिया
सयुक्त राज्य अमेरिका