गणेश पाण्डे
आफ्नो प्यारो गाउँलाई छाडेर राजधानी झर्दा त गाउँको यादले कत्ति सताउँछ कत्ति । परदेशी भूमिमा रहँदा त झन् नेपालको सम्झनाले नसताउने कुरै भएन् । एक दर्जन मुलुकमा पाइला टेके पनि एक महिना अघि अमेरिका टेकेर त्यहाँका नेपालीसँग भलाकुसारी गरेर यो पंक्तिकारले निकालेको निष्कर्ष पनि यही हो– अमेरिकामा नेपाली जति खुसी छन्, उत्ति नै बेखुसी पनि ।
‘ग्लोबल भिलेज’मा सुविधासम्पन्न आधुनिक जीवन जीउनुको मज्जा त बेग्लै हुन्छ, सबैले त्यो भाग्य पो कहाँ पाउने ? देशको धुले सडक, अस्तव्यस्ता भोगेका जोकोही नेपालीलाई अमेरिकाको झिलीमिलीले लोभ्याउने नै भयो । तर, सुखसुविधा भोगेका, राम्रै आर्थिक हैसियत बनाएका नेपालीहरु अमेरिकामा आफ्नो प्यारो जन्मभूमिलाई सम्झिरहेछन् । जन्मभूमिमै केही गर्न चाहन्छन् । किनकी अधिकांशको अन्तिम इच्छा यही छ कि देह त्याग्न चाँहि नेपालमै पाइयोस ।
जति नै बर्ष अमेरिका बसे पनि, या जायजेथ, धनधौलत र ख्याति कमाए पनि मैले भेटेका अमेरिकाका नेपाली समुदायका अगुवा छेवाङ शेर्पा लामा, प्रेमराजा महत, प्रभु थापा, दावातेन्जी शेर्पा र विजय थापासम्मको अन्तिम इच्छा पनि यही छ । कारण– नेपाली भएर जन्मनुमा नै उनीहरुलाई गर्व छ । जतिसुकै सुख भोगे पनि आफ्नो कला, संस्कृति, सामाजिक संस्कारलाई कस्ले भुल्न सक्छ र ? अझ परदेशमा हुँदा पो थाहा हुन्छ त आफ्नो देशको महत्व । किनकी रहरले होइन्, देशको बिग्रँदो राजनीति, बेथितिका कारण परदेशिनु बाध्यता आइपरेको हो ।
अमेरिका यस्तो देश हो, जहाँ काम नगरी कोही टिक्नै सक्दैन । त्यसैले उमेरले ७० पुगिसकेका पनि काम गर्ने भेटिन्छन् । अझ नेपालीहरुले गरेका संघर्ष र दुःख त व्याख्या गरि साध्य छैन । एउटै घरमा बसेका मानिसउस्तै परे भेट्न र गफगाफ गरेर बस्न एक हप्ता कुर्नुपर्छ । तर, अन्य देशका नागरिक र नेपालीमा फरक यो छ कि अन्यको तुलनामा नेपालीहरु बचत गर्छन, बचेको रकमबाट आफ्नै व्यापार-व्यवसाय र घरसम्पत्ति जोड्छन् । अनि केही रकम देशमा पनि फर्काउँछन् । जति संघर्ष ग¥यो, उत्ति नै पैसा आउँछ । नेपालमा जस्तो पैसा नै रोपेर पैसा कमाउनुपर्छ भन्ने छैन । श्रम बेचेर पनि पैसा जुटाउन सकिन्छ अनि त्यो पैसाबाट केही गर्न सकिन्छ । अमेरिकामा रहेका अधिकांश नेपालीले गरेको त्यही हो, नेपालको सम्पत्ति या जायजेथा बेचेर होइन, आफ्नै हातपाखुरा र बुद्धि चलाएर अमेरिकामा हजारौं नेपालीहरु स्थापित भएका छन्, जुन हरेक नेपालीका लागि गर्व हो ।
तर, अब उनीहरुलाई अमेरिकी नै बनाउने कि आफ्नो देशमा फर्किएर केही गर्ने वातावरण सिर्जना गर्ने ? राज्यको काँधमा छ। जुन अमेरिकामा रहेका नेपालीको एकसुत्रीय माग पनि हो । अझ गैरआवासीय नेपाली संघ (एनआरएन) ले प्रमुख नारा बनाएको ‘एकपटकको नेपाली, सँधैको नेपाली’ भन्ने नारा त अमेरिकाजस्ता देशमा रहेका नेपालीका लागि अति नै सान्र्दभिक रहेछ । अमेरिकामा बसोबास, मेहनत गर्न, व्यापार व्यवसाय गर्न त्यहाँको कानुनी बन्धनमा रहनुपरे पनि उनीहरु जीवनभर नेपाली नै भएर बाँच्न चाहन्छन् । त्यसैले त व्यस्त दैनिकीका बाबजुद पनि नेपालीहरुले समुदायका लागि समय निकालेका छन् । आफ्नो कला, संस्कृति र धर्म रक्षाका लागि प्रयत्नशील छन् । जसैको परिणाम अमेरिकामा मात्रै तीन / चार ठाउँमा पशुपतिनाथको मन्दिर खुलेको छ । गुम्बा बनेका छन् । व्यवसाय पनि गौतम बुद्ध, लुम्बिनी र सगरमाथाको नामबाट खोलिएका छन् । यम बराल, बिमल डाँगी र निशा सुनारहरु अमेरिकामा रहेर नेपाली नै गाइरहेछन् । अरु अवसर पाउँदापाउँदै पनि किशोर पन्थी, सूर्य थापा, विश्व थापा, गौतम दाहाल, आङछिरिङ शेर्पा, विजय पौडेल, सैलेश श्रेष्ठहरु पत्रकारितामार्फत नै समुदायलाई सेवा गर्न तल्लीन छन् ।
प्रेमको मन, छेवाङको बुद्धि
धेरै सुनेको, हेरेको र पढेको नाम हो प्रेमराजा महत । नेपाल आउँदा एबीसी र न्यूज २४ टेलिभिजनमा आक्कल झुक्कल भेट पनि भएको थियो । नेपाली लोकसंगीतमा सगरमाथा जत्तिकै उचो स्थान बनाएका, अमेरिका पुग्ने हरेक नेपालीका सेवक बनेका, झट्ट हेर्दा रबाफिला स्वभावका देखिने प्रेमराजा बाहिर र भित्रै अर्कै रहेछन् । मैले केहीबर्ष संगत गरे पनि मेगा बैंकका सिइओ अनिलकेशरी शाहसँग अति नै प्रभावित छु, शाहको दिमागमा नकरात्मक भन्ने चीज नै हुन्न । चाहेर पनि अरुलाई नचिढाउने बानी छ । त्यस्तै अर्को एउटा उदाहरणीय व्यक्ति पाएँ, मैले प्रेमराजा दाईलाई ।
अठार बर्षसम्मको संघर्षबाट अमेरिकामा पनि उचो कद बनाएका प्रेमराजा साँच्चिकै ‘मनका राजा’ रहेछन् । सायद त्यति निश्चल मन र सहयोगी भावनाका विरलै भेटिन्छन् । बिहान उठेदेखि बेलुकासम्म नेपालीकै सेवा । कहिल्यै नथाक्ने । दिनरात पनि नभन्ने । न त सानो–ठूलो नै छुट्टाउने । त्यसैले त अमेरिकामा कामको सिलसिलामा पुग्ने कमै नेपाली होलान्, जसको प्रेमराजासँग भेट नभएको होस् । अधिकांश उनैलाई भेट्न पुग्छन, कतिलाई प्रेमराजा आफै भेट्न पुग्छन् ।
विमानस्थलसम्मै लिन जाने, आफ्नैमा आश्रय दिने, काम गरिदिने, बिमानस्थलसम्म छाडिदिनेदेखि अमेरिकामा विभिन्न सिलसिलामा पुगेर अलपत्र परेकालाई रोजीरोटी र कानुनी प्रबन्ध मिलाइदिने प्रेमराजा नै हुन् । सायद त्यसैको पुरस्कार स्वरुप पाएका हुन्, उनले अवैतानिक महावाणिज्य दूतको पद पनि । चिन्दै नचिनेका, कहिल्यै नभेटेका र कुनै सम्बन्ध नभएका नेपाली किन नहुन्, प्रेमराजा सबैका लागि सहयोग गर्न तयार हुन्छन् । यत्ति भन्छु,– नेपालीलाई सँधै सेवा गर्न पाऊँ भन्ने मन्त्र बोकेका प्रेमराजाहरुलाई सँधै खान पुगोस, दिन पुगोस ।
हुन त नेपाली समाजमा सबै ‘प्रेमराजा’ वा ‘मनराजा’ मात्रै पनि छैनन् । विदेशमा पुग्दा पनि नेपालीले आफ्ना राम्रा संस्कारमात्रै होइन, नराम्रा संस्कार पनि सँगै बोकेर लगेका छन् । जतिसुकै सभ्य समाजमा बसोस्, सुविधासम्पन्न जीवन जिओस र ठूलाठूला विश्वविद्यालयमा पढेको किन नहोस, मानिसले आफ्नो विगतलाई छाड्न नसक्दो रहेछ । सात समुद्र पारिपुग्दा पनि केही यस्ता व्यक्ति छन्, जसले नेपाली समुदायमा भाँडभैलोमात्रै निम्त्याउँछन्, नेपाली नेपालीलाई जुधाउँछन् र बेग्रल्ती खुलेका नेपाली संस्थाको कुर्सी हत्याउन षडयन्त्र गर्छन् ।
मलाई अति नै मन अमिलो बनाएको चाँहि अमेरिकामा रहेका नेपालीको सबैभन्दा पुरानो र अग्रणी संस्था एएनए सम्मेलनमा हो । नेपाली समुदायका संघसंस्थालाई नेतृत्व गरेका, थुप्रै संस्थालाई लिकमा ल्याएका अनि अग्रणी व्यक्तिका रुपमा ख्याति कमाएका छेवाङ शेर्पा लामा नै त्यस्ता व्यक्ति हुन्, जसले मरिसकेको एनएनएलाई व्युँताएर कानुनी मान्यतामात्रै प्राप्त गरेनन्, त्यसलाई पुरानै अबस्थामा फर्काउन मेहनत पनि गरिरहेका छन् । यसर्थमा त छेवाङ धन्यवादका पात्र हुन् । जसले इतिहास बोकेको एनएनएनलाई कानुनी रुपमा अवैधानिक हुनबाट जोगाए । तर, भत्केको घरलाई बनाउने भन्दा डढेलो लगाउने प्रवृत्तिबाट एएनए ग्रसित रहेछ । एउटा माघ गएपछि अर्को माघ आउँछ भन्ने धुव्रसत्यलाई आत्मसात गर्न नसक्नेहरु एएनए र त्यसको नेतृत्वलाई असफल पार्न लागिरहेको देख्दा दुःख पनि लाग्यो । एएनए असफल हुनु भनेको छेवाङ शेर्पालामा, गोबिन्दसिंह रावत, विजय थापा वा हेमन्त श्रेष्ठ असफल हुनु होइन, नेपाली समुदाय नै असफल हुनु हो । अर्कोतर्फ, छेवाङ जत्तिको शालिन, बौद्धिक र जनजातिको छोरा भएर पनि जातियताको खरो बिरोधमा उत्रने व्यक्तिको विरोध गर्नु आफैमा दुःखको कुरा हो । न त छेवाङ जातियताको कुरा गर्न रुचाउँछन् । न त एएनएमा नै त्यसको गन्ध देखिन्छ । बरु, उग्र जातिवादी कुरा गर्नेहरुलाई उनी चोटिलो तर्कसहित मत्थर पार्ने सामथ्र्य राख्छन् । नेपाली समुदायलाई एकताको सुत्रमा बाँध्न पहलकदमी लिएका, आफ्नो श्रम, सीप र स्रोतसाधनसमेत त्यसैमा लगाएका छेवाङजस्ता व्यक्तिहरुलाई हतास पार्नु आफैमा दुःखद हो । छेवाङ शेर्पाजस्ता थुप्रै विद्धानहरुको नेतृत्व अमेरिकामा रहेका नेपाली समुदायलाई जरुरत छ, जसले मात्र ‘ग्लोबल भिलेज’मा नेपालीको सही नेतृत्व दिन सक्छ । । बरु नेपाली समुदायले नेपाली समुदायलाई एकताको सुत्रमा बाँध्नका लागि छेवाङको दिमाग प्रयोग गरोस्, जसको दिमागमा राम्रा कुराको खानी छ ।
समाज भित्र राम्रा, नराम्रा दुवै खाले मानिस हुन्छन् । नराम्राहरु आफै सुध्रिन्छन, नसुध्रिए समाजबाट बहिस्कृत हुन्छन् । तर, विदेशमा एकआपसमा सिँघौरी खुल्नेको कुनै तुक छैन । भर्जिनियामा प्रेम संग्रौला भन्दै थिए, ‘बिडम्वना कस्तो पनि छ भने नेपाली समुदायको झगडा मिलाउन विदेशी वकिललाई पैसा पोस्नुपर्ने अबस्था छ ।’ नेपाली र नेपाली समुदायबीच झगडा हुँदा फाइदा हुने अरुलाई मात्रै हो, नेपालीलाई हैन ।
केही खराब व्यक्तिले गर्दा सिंगो समुदायप्रति नै वितृष्णा जाग्न सक्छ । अमेरिकामा केही महिना अघिमात्रै पुगेका मेरा मित्र कवि कृष्ण कुसुम भन्थे, ‘विदेशमा पनि राजनीति गरेको देख्दा नेपाली समुदाय भएको ठाउँ भन्दा नभएकै ठाउँमा बस्न ठीक लाग्यो । त्यसैले म यो नेपाली समुदाय भन्दा टाढा छु ।’
एक नेपाली अर्को नेपाली देख्दा टाढा भाग्नुपर्ने अवस्था परदेशमा नओस । नेपालीहरु आफैमा सिँघौरी खेल्दा समुदाय त भताभुंग हुन्छ नै, मातृभूमिले पनि केही पाउँदैन । अमेरिकामा रहेका बिद्धान नेपालीहरु पक्कै पनि यसमा सचेत छन् ।
लेखकले अमेरिकाबाट फर्किएपछि यो लेख लेखेका हुन र उनि दैनिक नेपाल डटकमका सम्पादक हुन l