यो कथन सत्य हो या चुटकिला …एक पटक भारत बिहारका पूर्व अति चर्चित मुख्य मन्त्रि लालु प्रसाद यादवलाई अमेरिकाका राष्ट्रपतिले सोधेछन ,मलाई बिहार देउ म केहि बर्षमा नै अमेरिका बनाई दिन्छु । सवालको जवाफमा भारतका मुख्य मन्त्रीले भनेछन मलाई अमेरिका दिनु म एक महिनामा बिहार बनाई दिन्छु । यसको खोज र अनुसन्धान भन्दा प्रसंग तर्फ लम्कनु नै उचित हुन्छ र व्यर्थमा समय खर्च गर्नु हुन्न । हामीलाई थाहा छ ,नेपालमा जे कुरालाई पनि राजनीति गरिन्छ । सबै दलहरुको सहमति चाहिन्छ भन्ने निहत्था ढिप्पीपनले गर्दा आज मुलुकलाई अनिर्णयको बन्दि बनाई राखिएको छ । जति पनि नेपालीहरु अमेरिकामा प्रवेस पाएका छन् ,राजनैतिक बिचारसंग आबद्द भएको या प्रतक्ष्य या अप्रतक्ष्य रुपमा राजनैतिक दल या राजनैतिक दलका नेताहरुसंग नजिक रहेको पाईएको छ । अपवादमा केहि नगन्य रुपमा तटस्थ पनि पाईन्छन ।
बाह्र बर्ष ढुङ्ग्रोमा पुच्छर राख्यो जस्ताको त्यस्तै भने जस्तै नेपाली अमेरिकन या प्रवाशी नेपाली या अमेरिका प्रवेश गरेकाहरुको आचरण ,आदत र ब्यबहारमा केहि सुधार आएको देखिएता पनि समग्रमा आमुल परिवर्तन भएको देखिएको छैन । आफ्नो डम्फु बजाउन पछि पर्दैनन । अमेरिकाको व्यस्त जीवनको कारण अरुले के गरे र के गर्दैछन भन्ने तर्फ उन्मुख हुदैनन । अमेरिकामा नेपालीहरु ३ लाख जति होला भन्ने अनुमान गरिन्छ र अमेरिकाको २०१० को जनगणनाले नागरिक लिनेहरु ६० हजारको हाराहारीमा देखाएको छ ।
अमेरिकाको ५० वटा राज्यमा करिब ३०० को हाराहारीमा संघ तथा संस्थाहरु खुलेका छन् यस्तो खोल्नमा हामी माहिर छौ ।मातृभूमिको सेवाको लागि स्थापित भएका छन् भने कसैलाई पद चाहिएको कारण खोलेका छन् । धेरै बर्ष देखि टाउके पदमा एकै व्यक्ति भएका छन् ,कोहि पदको लोलुपतामा फसेका छन् भने कहि खोज्दा पनि नेतृत्व लिने पाईदैन ,वास्तविकता पनि हो । विधिवत कानुनी दर्ता भएका संस्थाहरु निकै कम रहेका छन् ।हामीले अमेरिकालाई कहिले काही हाम्रो अस्तित्व बिर्सिएर नेपाल सम्झन्छौ र अनि झड्का लाग्दछ किनभने हामी हाम्रो सिमा नाग्दछौ । नियम र कानुनलाई उलंघन गर्छौ अनि नेपाली संघ तथा संस्था कालो सुचिमा पर्दछन ।अमेरिका नेपालको पाटी ,पौवा ,चौतारी ,राजनैतिक दलको कार्यालय जस्तो हुदैन कार्यक्रम गर्ने कैयौ ठाउमा नेपालीहरुको हो भन्दा मुख खुम्च्याउने गरेका हामीसंग अनुभव छ । कार्यक्रममा सहभागी हुन् आएकाहरुले होहल्ला गर्दा अतिथिहरु मध्य रातमा कोठा छोडी अर्को स्थानमा बसाई सराई गरेका देखेका छौ । किनभने सेकुवा र माछा पसलमा गरेको जस्तो आदत हामीले छोडेका छैनौ । हामीले त्यहाँ पनि अमेरिकालाई नेपाल सम्झन्छौ ।
अमेरिकामा नेपाली संघ तथा संस्थाहरु गैर मुनाफा संस्थाको रुपमा दर्ता भएका छन् अर्थात् स्वयम् सेवक रुपमा समय दान गर्नु पर्ने र पाउने केहि छैन, केवल दिनु मात्र पर्ने हुन्छ । जब निर्वाचनको घोषणा गरिन्छ त्यहा सुरु हुन्छ महाभारत । त्यहा पनि हामी चुक्दछौ । हामी अमेरिकामा छौ र नेपाल हैन भन्ने बिबेकले काम गर्न छोडदछ । हात सुर्कने समेत् अवस्था आएको देखेका छौ । गैर मुनाफा संस्था निर्वाचनमा यहाँ आएका व्यक्तिहरु राजनैतिक दलका नेताका धाक दिन्छन । नेपालमा महा बिद्यालय (क्याम्पस) र बिश्व बिद्यालयमा हुने स्वतन्त्र बिद्यार्थी संगठनको चुनाब जस्तै गरि नेपालको राजनैतिक दलको समर्थन छ भनि हल्ला फ़िजाइञ्छ र उम्मेदवार चुनाब लडेको हामीले देखेका छौ । यसरि समाज भाडिन्छ र यो पंक्तिकार पनि यो अभिनय धेरै बर्ष देखि हेर्दै आएको छ । राजनैतिक आस्था र झुकाब प्रति आफुले कहिले पनि लाग्न नपरोस भनि सोहि अनुसार अमेरिकामा कलम चलाई रहेको हुन्छु । आग्रह र पूर्वाग्रहबाट टाडा रहने सिद्धान्त अपनाएको हुनाले यस्ता प्रति कलम चलाउने प्रति आफ्नो सहानुभूति कहिले नरहने छ । समाज सेवामा राजनैतिक दलका भात्री संगठन,जनजाती ,आदिबासी ,दलित आदि ईत्यादीको नाममा अमेरिकामा खेल खेल्नु खेदपूर्ण हुन्छ । एक ढिक्का हुनु पर्नेमा नेपालका राजनैतिक दलहरु जस्तै ब्यबहार गर्दछौ । कुनै पनि नेपालीले बिदेसमा यस्तो ताण्डब नृत्य हेर्न नपरोस भन्ने चाहन्छन । हामी स्वयम् सेवक रुपमा समाज सेवा गर्न भन्दा कुर्शीको मोहमा केन्द्रित यहाँ पनि हुन्छौ । हामी अमेरिकाको राष्ट्रपति बस्ने सेतो घरमा पुगी हाल्दैनौ ।
गैर मुनाफा अमेरिकी संस्थाहरुमा पनि चुनाब नहुने हैन तर उनीहरु अभिरुची ज्यादा भएको मानिसलाई हौसला प्रदान गर्दछन । हामी जस्तो भाले जुधाईमा अल्मलिदैनन । हामीले अमेरिकामा लामो समय सम्म जीवन यापन गर्न छ भने हामीले हाम्रो परम्परा ,संस्कृति र कलाको प्रबर्धन गर्न हामी एक जुट हुनु पर्छ र हाम्रा कू-संस्कृति कहिले भित्राउनु हुदैन । रामो कुरा ल्याउ र नराम्रो फ्याकी देउ यसैमा हाम्रो पहिचान हुन्छ । केहि बर्ष अघि अस्ट्रेलियामा कैयौ भारतीय बिद्यार्थीहरुलाई सांघातिक हमला गरियो र कैयौको ज्यान पनि गयो । नेपाली पनि भारतीय हुन् भनि दुख पाए । यो नराम्रो कुरा हो ,त्यहाँ पनि केहि भारतीय बिद्यार्थीहरुले बिहार ,उत्तर प्रदेश ,दिल्ली आदि राज्यमा जस्तो ब्यबहार अर्थात् हूलमा हिड्ने र होहल्ला जस्ता क्रियाकलाप देखिएकोले यस्तो घटना घट्न पनि गएको भनिन्छ ।
अमेरिकामा बिभिन्न वर्गका नेपालीहरु मुलुक छाडी बसोबास गर्दै आई रहेका छन् । सबै पेसामा सबै खाले बुद्धिजीवि वर्ग अमेरिकामा पनि वृद्धि हुदैछ । चन्द्रमामा पानी रहेको तथ्यांक प्रमाण गर्न सक्ने नेपाली मुलका बैज्ञानिक पनि छन् । विश्व बिद्यालयमा पढाउने धेरै छन् ,ठुला ओहदामा पनि नेपालीहरुको पहुच छ । यी बुद्धिजीविवर्ग आफ्नो ईलममा तन मन धनको साथ ध्यान मग्न छन् । उनीहरुमा पनि एक प्रकारको गम्भीरपन हुन्छ । सबैसंग खूलदैनन र कोहि कोहीमा दम्भ हुन्छ । यस्ता शिक्षा क्षेत्रमा लाग्नेहरु बिषय सम्बन्धि दक्ष होलान तर विद्वत वर्ग भन्दैमा ब्रम्ह ,बिष्णु र महेश्वर हुदैनन र ठुलो ठान्ने गरे अमेरिकामा भुसुना जस्तै उडाई दिन्छन । यहा सबै बराबर र सबै समान हुन्छन ।
अमेरिकामा राष्ट्रिय स्तरका ख्याती प्राप्त ,शिल्पकार ,कलाकार,पत्रकार,साहित्यकार,गायककार र अन्यहरु प्रसस्त छन् । उनीहरु असजिलो महसुस गर्दछन किनभने राष्ट्रभर उनिहरुको नेपालमा सम्मान पाएका हुन्छन । तर अमेरिकामा आए पछि त्यो सम्मान पाउदैनन । त्यस्तै सम्मान यहाँ खोजेर पाइदैन किनभने एउटा भनाई चलेको पाइन्छ त्यो हो ,कस्ले ध्यान दिने ? अर्थात् हू केयर ? मलाई ईज्ज़त दियोस भन्ने दिवा सपना देख्दछ भने सपनामा मात्र ईज्ज़त पाउदछ , बिपनामा यहाँ कसैले टेरदैन किनभने अमेरिका अधिकांस त्यसै आएका हुदैनन् । तन ,मन धन लगाएर आएका हुन्छन अनि किन आफुलाई सानो ठान्ने भन्ने तिर बिचार जान्छ ।यस्ले गर्दा झन् समझदारीमा फराकिलो बनाउछ र नेपालीहरु एक जूट भन्दा फूट हुने सम्भावना देखिन्छ ।
अनि हामीले नेपालमा जे सोच्दछौ त्यहि सोच यहाँ लागु गर्ने प्रयास गरे हामी एक्लो बृहस्पति हुने छाट पक्कै हुन्छ । अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु कदापी हुदैन बरु यहाका असल कुरा ,आचरण आदि ईत्यादी आफ्नो जीवन र ब्यबहारमा लागु गर्न सक्नु पर्छ । अनि मात्र हामी नेपाललाई अमेरिका जस्तो बनाउन सकिएला भन्ने सोच्न सक्दछौ ।
————————————–अस्तु
विजय थापा
भर्जिनिया